अनेरास्ववियू क्रान्तिकारी र सरकारबीचको वार्तामा कुनै सहमति नभएपछि आजको लागि वार्ता स्थगित भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आपूर्ति मन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल वार्तामा सहभागी भए पनि क्रान्तिकारीका माग सम्बोधन नभएपछि वार्ता स्थगित गरिएको हो ।
क्रान्तिकारीले ग्याँस, मट्टीतेल, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीमा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिनु पर्ने, सहुलियत रासनकार्ड उपलब्ध गराउनुपर्ने, १२ कक्षासम्म निःशुल्क गर्नुपर्ने, शैक्षिक बेरोजगारलाई बेरोजगार भक्ता उपलब्ध गराउनुपर्ने, विद्यालय, विश्वविद्यालय, निजी र प्राविधिक शिक्षाका बारेमा विभिन्न माग राख्दै आएको छ । क्रान्तिकारीले भने मागमा सम्बोधन नभए बिहिवारदेखि कडा आन्दोलन गर्ने जनाएको छ ।



