गैरनेपालीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नुनुलाल उरावको रिहाइको माग गर्दै सुनसरीका सबै सरकारी कार्यालय बन्द गराइएका छन् । कर्मचारी संगठनहरुले बिना शर्त तत्काल रिहा गर्न माग गरेका हुन् ।
कार्यालयहरु ठप्प भएपछि सेवाग्राही भने समस्यामा परेका छन् । उरावलाई प्रहरीले गत पुस ७ गते पक्रेको थियो । नेपाल निजामति कर्मचारी युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च, राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा कार्यालय बन्द गराएका हुन् ।
कर्मचारीहरुले यस अघि पुस ८ गते उरावको रिहाइ माग गर्दै कार्यालयहरु बन्द गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले उरावलाई रिहा गर्ने आश्वासन पटक पटक दिएपनि हालसम्म रिहा नगरेकाले बन्द आहवान गर्नुपरेको कर्मचारी संगठनहरुले जनाएको छ ।
उरावले भारतको आसाम र नागाल्याण्डमा पृथकतावादी सशस्त्र आन्दोलन गर्दे आएको दिमा आलम दाओग(जे)का कमाण्डर इन चिफ निरन्जन होजाइको नेपाली नागरिकताका लागि सिफारिस गरेका थिए ।