तीन दलका शीर्ष नेताहरुको बैठकमा काँग्रेसद्धारा संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्नुपर्ने प्रस्ताव

– कुलचन्द्र न्यौपाने

 

काठमाडौ – तीन दलका शीर्ष नेताहरुको बैठकमा काँग्रेसले संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेको छ । शासकीय स्वरुपमा संसदीय प्रणालीमा अडिग रहेको काँग्रेसले सहमति नबनेको भन्दै कार्यतालिका परिवर्तनको प्रस्ताव राखेको हो । कार्यतालिका अनुसार मंगलबारसम्म पनि सहमति नजुटे बुधबारदेखि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

कांग्रेसले थप छलफल गरेर सहमतिबाट नै अघि बढ्नुपर्ने भन्दै मंगलबारको बैठकमा कार्यतालिका परिवर्तनको माग गरेको हो । माओवादी र एमालेले भने सहमति भएका बिषयलाई साझा प्रस्तावको रुपमा लाने र नमिलेका बिषयलाई संविधानसभाबाट टुंग्याउने गरी कार्यतालिका परिवर्तन नगर्ने अडान राखेका छन् ।

कार्यतालिका परिवर्तन गर्ने र नगर्ने बीचमा कुरा निमलेपछि शासकीय स्वरुपमा विस्तृत छलफल नै नभई बैठक टुंगिएको थियो । बैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा शासकीय स्वरुपसहित धेरै कुरा मिल्न बाँकी रहेको बताउँदै भोटिङमा जान नहुने बताए । उनले कार्यतालिका परिवर्तन नगरी भोटिङमा जाने अवस्था आएमा संविधान निर्माण हुन नसक्ने तर्क समेत गरे ।