शहिद गेटबाट त्रिभुवनको शालिक हटाउने सरकारको निर्णयको बिरोध गर्दै राप्रपा नेपालद्धारा संसद बैठक बहिष्कार

काठमाडौ – शहिद गेटबाट स्वर्गीय राजा त्रिभुवनको शालिक हटाउने सरकारको निर्णयको बिरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार व्यवस्थापिका संसद बैठक बहिष्कार गरेको छ ।

बैठकको प्रारम्भमै बोल्दै राप्रपाका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले सरकारले इतिहाँस, परम्परा र संस्कृतिलाई मेटाउने प्रयास गरेको बताए । उनले सरकारले गरेको निर्णय फिर्ता लिनुपर्ने जनाए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहिद गेटमा रहेको त्रिभुवनको शालिक त्यहाँबाट हटाएर नारायणहिटी संग्रालयमा सार्ने निर्णय गरेको थियो । सरकारले उक्त निर्णय नसच्याए आन्दोलन गर्ने राप्रापा नेपालले जनाएको छ । संसदमा राप्रपा नेपालका चार जना सभासद् छन् ।