३७ नयाँ नगरपालिका घोषणा, स्थानीय निकायमा दलले पाएको मतको आधारमा नयाँ संयन्त्र गठन गर्ने मन्त्री टोपबहादुर रायमाझीको घोषणा


 

काठमाडौं – सरकारले बिहीबार ३७ नयाँ नगरपालिका घोषणा गर्ने भएको छ । नयाँ नगरपालिका घोषणापछि नेपालमा महानगर, उपमहानगर र नगरपालिकाको संख्या ९५ पुग्ने छ ।

यसैबीच स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले दश दिनभित्र स्थानीय निकाय सञ्चालनको लागि नयाँ संयन्त्र गठन गर्ने घोषणा गरेका छन् । संविधानसभामा जिल्लामा दलले पाएको मतको आधारमा नयाँ संयन्त्र गठनको तयारी भएको उनले खुलासा गरे ।

मन्त्री रायमाझीले बढी मत पाउने दल अध्यक्ष त्यसपछिको दल क्रमशः उपाध्यक्ष सहितका पदमा राखेर संयन्त्र गठन गरिने जानकारी दिए । रिपोर्टर्स क्लवको साक्षात्कारमा मन्त्री रायमाझीले ५ देखि बढीमा ९ सदस्यीय संयन्त्र गठनको तयारी भइरहेको खुलासा गरे ।

स्थानीय राजनीतिक दलसँग सल्लाह गरेर जिल्लामा एलडिओ, नगरपालिकामा कार्यकारी अधिकृत र गाविसमा सचिवको नेतृत्वमा स्थानीय निकायका विकास निर्माणका काम सञ्चालन गर्ने निर्देशन दिइएको उनले बताए ।

कांग्रेस प्रकासशरण महतले सरकारले कसैसँग पनि छलफल नगरी संयन्त्र विघठन गरेको भन्दै खारेजीको निर्णय फिर्ता हुनु पर्ने धारणा राखे । उनले माओवादी नियन्त्रित विकास योजना अगाडि बढाउन पहिलाको भन्दा उपयुक्त विकल्प नदिई संयन्त्र खारेजको गरेको आरोप लगाए ।

एमाले नेता रघुवीर महासेठले राजनीतिक संयन्त्रको कारण स्थानीय निकायमा ब्यापक भ्रष्टाचार भएको भन्दै संयन्त्र खारेजीको सरकारको निर्णय सहि भएको दावी गरे ।