काठमाडौं – प्रधानमन्त्री एवं माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले महाधिवेशनसम्म विवाद थाती राख्न बरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई आग्रह गरेका छन् ।
बिहीबार गोङ्गबुस्थित वैद्य निवास पुगेर भट्टराईले मिल्न सक्ने विवादित विषयलाई जारी केन्द्रीय समितिबाटै र बाँकी विषय महाधिवेशनसम्म थाती राख्न आग्रह गरेको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । भट्टराईको प्रस्तावमा वैद्य सकारात्मक रहेको पाण्डेको भनाइ छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालको शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यदिशाको प्रतिवेदनमा आपत्ति जनाउँदै वैद्यले अलग प्रस्ताव राखेका छन् । दुवै प्रस्तावप्रति आरोप-प्रत्यारोप चलिरहेकाबेला वैद्यलाई भेट्न भट्टराई उनको निवास गएका हुन् ।



