२२ पुस काठमाडौँ । प्रधानमन्त्री भएको सुरुका दिनमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने रहर र बाध्यता दुवै थियो, बाबुराम भट्टराईलाई ।
त्यसैले उहाँले चर्चा कमाउने अरु कामसँगै नयाँ काम थाल्नुभयो, हेलो सरकार । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुरु गरिएको हेलो सरकारको तामझाम सुरुका दिनमा निकै थियो । तर, दिन बित्दै जाँदा हेलो सरकार गुनासो सुन्ने तर कार्यान्वयन नगर्ने थलोका रुपमा परिणत भएको छ ।
करिब दुई महिनाको अवधिमा सर्वसाधारणका करिब ६ हजार उजुरी सुनेको हेलो सरकारले सम्बन्धित मन्त्रालयमा पठाएका उजुरीहरु पटक्कै कार्यन्वयन नभएपछि आजभोलि गुनासो आउनेक्रम पनि घटेको छ । प्रधानमन्त्री कार्यालयले हेलो सरकारमार्फत आएका गुनासा सम्बन्धित मन्त्रालयमा पठाएपनि तीनलाई मन्त्रीहरुले वेवास्ता गरेको प्रधानमन्त्री कार्यालयको गुनासो छ ।
आफ्ना गुनासा कार्यन्वयन नभएपछि आजभोलि सेवाग्राहीहरुले किन कार्यान्वयन भएन भनेर पनि सोध्न थालेका छन् । हेलो सरकारमा धेरैजसो शान्ति, सुरक्षा सुशासन र अमनचयनबारेका गुनासा र सुझाव आउने गरेका छन् । पछिल्ला दिनहरुमा माओवादी पार्टीमा देखिएको समस्याबारे पनि थुप्रै गुनासा आएका प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
कसैकसैले व्यक्तिगत समस्या र फन्टुस कुरा पनि राख्ने गर्छन् । तर धेरैको त शान्ति सुरक्षा र सुशासनकै सेरोफेरोमा गुनासा र सुझाव हुन्छन् । गृह र अर्थ मन्त्रालयले सुझाव कार्यन्वयनमा अलिअलि चासो देखाएपनि परराष्ट्र, भौतिक योजना, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, स्थानीय बिकासलगायतका मन्त्रालयका लागि आएका गुनासा पटक्कै कार्यन्वनय भएका छैनन् ।
अरु त अरु स्वयं प्रधानमन्त्री बाबुराम भट्टराई पनि हेलो सरकारको कार्यन्वनयका लागि त्यति गम्भीर हुन छाड्नुभएको छ ।



