मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध १७ जनालाई पक्राउ

रुकुम – मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम सदरमुकाम खलङ्गा बजारको एक होटलबाट बिहिबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

होटलको हलमा प्रशिक्षण कार्यक्रम गरिरहेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको रुकुमका प्रहरी नायब उपरीक्षक किसनसिङ थापाले जानकारी दिए ।अनुसन्धान भइरहेकाले थप कुरा भत्र नमिल्ने थापाले बताए ।

रुकुममा बसेर सङ्गठित रूपमा आपराधिक क्रियालपाको योजना निर्माण भइरहेको अनुमान प्रहरीले गरेको छ ।

केही समयअघि पनि सोही सङ्गठनमा आबद्ध रहेको बताउने तीनजना युवालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । उनीहरूको साथबाट लाखौँ मूल्य बराबरका युद्ध बन्दोबस्तीका सामग्री पनि बरामद गरिएको थियो । रासस