अख्तियारद्धारा सशस्त्र प्रहरीको जवान भर्नाको प्रक्रिया र नतिजा प्रकाशन रोक्न निर्देशन

काठमाडौ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीको जवान भर्नाको प्रक्रिया र नतिजा प्रकाशन रोक्न निर्देशन दिएको छ । जवान भर्नाका क्रममा व्यापक अनियमितता भएको आशंकामा छानबिनका लागि नतिजा प्रकाशनलगायतका प्रक्रिया रोक्न आइतबार अख्तियारले गृह मन्त्रालय र सशस्त्र प्रहरीलाई निर्देशन दिएको जानकारी अख्तियारका अधिकारीले दिए ।

‘सशस्त्र प्रहरीमा जवान भर्नामा २ देखि ३ लाख रुपैयाँसम्म लेनदेन भएको कुरा आएको छ । हामीले गृह मन्त्रालय र सशस्त्रलाई भर्नाको प्रक्रिया रोक्न र रिजल्ट प्रकाशन नगर्न आइतबार लिखित निर्देशन दिएका छौं,’ अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले भने, ‘भर्नामा भएको भनिएको अनियमितताको अख्तियारले अनुसन्धान गरी दोषी भेटिए सम्बन्धित अधिकारीमाथि भ्रष्टाचारको अभियोगमा कारबाही गर्छौं ।’

पौडेलले सशस्त्र प्रहरीमा जवान भर्तीमा के भएको हो, १५ दिनभित्र छानबिन गरी अख्तियारलाई प्रतिवेदन दिन गृह सचिव सुशीलजंग राणा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठलाई निर्देशन दिइएको जानकारीसमेत दिए । उनीहरूले छुट्टाछुट्टै छानबिन गरी प्रतिवेदन अख्तियारलाई बुझाउनेछन् ।