जयप्रकाशप्रसाद गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला दुई महिनाका लागि सर्‍यो

काठमाडौं – सर्वोच्च अदालतले सोमबार सुनाउने भनेको सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला दुई महिनाका लागि सारेको छ ।

न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले फैसलाको पूर्ण पाठ तयार पार्न नभ्याएकाले फागुन ९ गते निर्णय सुनाउने जानकारी मुद्दाका पक्षहरूलाई दिएका थिए ।

फैसला सुन्न गुप्ता आफैं अदालतमा आएका थिए । उनको मुद्रा गम्भीर देखिन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रद्वारा संसद् विघटन हुनुअघि पनि सूचना तथा सञ्चारमन्त्री भएका गूप्ताले पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अख्तियारको अभियोग छ । अख्तियारले उनलाई २ करोड ८ लाख ८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै ९ वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले गुप्तालाई २०६४ जेठमा सफाइ दिएको थियो ।

विशेषको उक्त निर्णयविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा सर्वाेच्चले चार वर्षपछि मुद्दाको टुंगो लगाउन लागेको हो ।