नेपाली नोटमा राजा पृथ्वीनारायण शाहको तस्विर राख्न राप्रपाको माग

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली नोटमा राजा पृथ्वीनारायण शाहको तस्विर राख्न माग गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा उनले उनले उक्त माग गरेका हुन् ।

शाहको २९० औँ जन्मजयन्ती बुधबार सिंहदरबारको पश्चिम गेटस्थित उनको सालिकमा माल्यार्पण गरेर मनायो ।

दुईसय ९० औँ पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिद्वारा आयोजना गरिएको सो माल्यार्पण कार्यक्रममा थापा, पूर्वमन्त्री तथा समारोह समितिकी सहअध्यक्ष डा दुर्गा पोखरेल, राप्रपाका नेता राजेश्वर देवकोटा, दीनवन्धु अर्याल, पत्रकार माथवर सिंह बस्नेत, युवराज घिमिरे, प्रकाश कोइराला, पिएल सिंहलगायतको उपस्थिति थियो ।

माल्यार्पणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै थापाले नेपाल एकीकरणका अभियन्ता तथा राष्ट्रनिर्माता शाहको योगदानलाई कदर गर्दै राष्ट्रले राष्ट्रिय एकता दिवसका बनाउन र सार्वजनिक बिदा दिनु पर्ने माग समेत गरे ।

नागरिक समारोह समितिकी सहअध्यक्ष डा पोखरेलले राष्ट्रिय एकताको प्रतीकका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्नेमा जोड दिँदै पृथ्वीनारायण शाह लोकतान्त्रिक र प्रजातान्त्रिक विचारका व्यक्तित्व भएको बताए ।