समय पूरा भएर पनि जेल मुक्त नगराएको भन्दै जिल्ला कारागार पाँचथरका कैदी वन्दीहरु आमहरण अनसनमा

समय पूरा भएर पनि जेल मुक्त नगराएको भन्दै जिल्ला कारागार पाँचथरका १६ जना कैदी वन्दीहरु आमहरण अनसनमा बसेका छन् । उनीहरुको अनसनमा कारागारमा रहेका अन्य कैदी बन्दीहरुले समेत समर्थन जनाएका छन् । सजाय भुक्तानीका लागि कारागार प्रमुखलाई पटक पटक आग्रह गरेपनि सिफारिस नगरेदिएपछि आफूहरु बाध्य भएर अनसनमा बस्नु परेको उनीहरुको गुनासो छ । सुनसरी इटहरीका सुजन मगर, पांचथर फिदिमका दुर्गा राई र पांचथर फाक्तेपका जस वहादुर नेम्वाङले अनसनको नेतृत्व गरेका छन् ।


कैदीहरुले तत्काल जेल मुक्त हुनुपर्ने, सजाय भुक्तानीका लागि भन्दै जेलर रेनु प्रसाद ओझाले लिएको रकम फिर्ता हुनुपर्ने लगायतका माग राखेका छन् । उता, कारागार प्रशासनले भने कैदीहरुको यस आन्दोलमा कुनै प्रतिक्रिया जनाएको छैन । जिल्ला कारागार पांचथरमा अहिले १ सय २९ जना कैदीहरु रहेका छन् ।