एमाले झलनाथ खनालद्धारा वर्तमान ‘महाजम्बो’ र खर्चिलो सरकारले शान्ति र संविधान निर्माण पूरा गर्न नसक्ने ठोकुवा

– पर्वत पोर्तेल

 

काँकडभिट्टा  – एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान ‘महाजम्बो’ र खर्चिलो सरकारले शान्ति र संविधान निर्माण पूरा गर्न नसक्ने ठोकुवा गरेका छन् ।

युवा संघ नेपालको राष्ट्रिय भेलालाई शुक्रबार झापाको विर्तामोडमा सम्बोधन गदै अध्यक्ष खनालले शान्ति र संविधान निर्माण पूरा गर्न नसक्ने सरकारले राजीनामा गरी मार्गप्रसस्त गर्न सुझाव दिए । उनले माओवादीले मुलुकलाई अगुवाई गर्ने हैसियत नराखेको बन्दै एकतबद्ध एमालेलेमात्रै मुलुकको नेतृत्व गर्न सक्ने दाबी गरे ।

सम्बोधनभर माओवादीप्रति आक्रोसित खनालले माओवादीले आफूअनुकुलको संविधान बनाउन चाहेकाले समस्या भएको आरोप लगाए । उनले पाँच महिनामा संविधान नबने मुलुक द्वन्द्वमा फस्ने उल्लेख गरे ।

खनालले एमालेको एकतालाई नक्कली भनी गरेको टिप्पणीप्रति आक्रोस पोखे । उनले एकतबद्ध एमालेले सिंगो मुलुकलाई नै एक बनाउने दाबी गरे ।

कार्यक्रममा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले आलटाल गरेर संविधान निर्माण पछि धकेलेको आरोप लगाए । उनले माओवादी शासकीय स्वरुप र राज्य पुनर्संरचनामा गम्भीर नहुँदा छलफल हरु लम्बिँदै जानसक्ने संकेट गरे ।

संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिका सदस्यसमेत रहेका नेता नेपालले माओवादीले गैर जिम्मेवारी बन्दै गए फेरि पनि जेठ १४ मा संविधान नबन्ने ठोकुवा गरे । उनले एमाले भावनात्मकरुपमै एक भएको दाबी गर्दै अब एकता अभियान गाउँ-गाउँसम्म लैजाने बताए ।