पार्टीलाई फुटबाट जोगाउन आफैले गरेको मौखिक सहमतिबाट प्रचण्ड पछि हटेको आरोप माओवादी मोहन वैद्यको आरोप

– पार्टीलाई फुटबाट जोगाउन आफैले गरेको मौखिक सहमतिबाट एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पछि हटेको आरोप उपाध्यक्ष मोहन वैद्य पक्षले लगाएको छ।

 

आफूहरुसँगको पूर्व मौखिक सहमतिबाट अध्यक्ष प्रचण्ड पछि हटेकाले विवाद फेरि बल्झिएको एकीकृत नेकपा माओवादीको असन्तुष्ट पक्षले लगाएको छ।

तर बैद्य पक्षले नै थप नयाँ र कडा सर्त तेर्स्याएकाले सहमति हुन नसकेको प्रचण्ड पक्षको भनाइ छ।


पार्टीलाई फुटबाट जोगाउन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बैद्यका दुई प्रतिवेदनको साटो नयाँ एकता प्रस्ताव ल्याउन दुबै पक्ष सहमत भएको बताइएको थियो।


त्यस अनुसार प्रचण्डले शीर्ष नेतृत्वबीच शुक्रवार भएको छलफलमा एकता प्रस्ताव पेश गरेका थिए।

 

बैद्य निकट नेता तथा माओवादी सचिव सीपीले भने, “शान्ति र संविधान सम्भव नभए जनविद्रोहमा जाने लगायतका आधारभूत विषयमा अध्यक्ष पहिलेको सहमतिबाट पछि हटेकाले हामी सहमत हुन सकेनौं।”

तर विगतमा दुई पक्षबीचको छलफलमा सामेल प्रचण्ड निकट नेता हरिबोल गजुरेलले त्यसको खण्डन गरे।


उनले भने, “पहिलेको सहमति विपरित बैद्य पक्षका साथीहरुले नयाँ र कडा सर्त राख्नु भएको हो।”


उनका अनुसार प्रमुख अन्तरविरोधको किटानी, शान्ति र संविधानमा कडा अडान लिनु पर्ने, सरकारले भारतसँग गरेको सहमतिलाई राष्ट्रहित विपरित भन्नु पर्ने लगायतका शर्त राखेको छ।

 

अध्यक्षले आफूहरुसँग भएको सहमति अन्य विचार समूहबाट पनि अनुमोदन गराउन खोज्दा उनीहरुबाट आएको विपरित दवावको परिणाम स्वरुप कुरा प्रचण्डपछि हटेको बैद्य पक्षको बुझाई छ।

तर हालैको देशव्यापी दौडाहामा बैद्य पक्षले पार्टी फोड्ने सन्देश आफू निकट कार्यकर्ताहरुलाई दिएको र फेरी मिल्न लाग्दा उनीहरुबाट दवाव आएकाले नयाँ सर्त तेर्‍याएको प्रचण्ड पक्षको ठम्याइ पाइन्छ।


त्यसको खण्डन गर्दै सचिव गजुरेलले भने, “फुट परस्त गतिविधि संस्थापन पक्षबाट भएको र अरुले पार्टी फोडेमा सामना गर्न तयार हुन भनेका हौं, हामीले फोड्छौं भनेका होइनौं।”


शीर्ष तहमा विवादको निप्टारा नलाग्दा अहिले स्थगित केन्द्रिय समिति बैठक अन्यौलमा परेको छ।


त्यसको सिधा असर संविधान लेखन र शान्ति प्रकृयाको गतिमा परेको देखिन्छ।