चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण चार घण्टामात्रै हुनुमा सरकारको नलायकीपन झल्किएको आरोप प्रतिपक्षी दलहरुको आरोप

चिनियाँ प्रधानमन्त्री बेनजिया बाओको नेपाल भ्रमण चार घण्टामात्रै हुनुमा सरकारको नलायकीपन झल्किएको आरोप प्रतिपक्षी दलका नेतहरुले लगाएका छन् । राजधानीमा गरिएको कार्यक्रममा कांग्रेस नेता डा. रामशरण महतले नेपालको लथालिंग पारा र कुसंस्कारका कारण चीनले विश्वास गर्न नसकेर भ्रमण छोट्याएको आरोप लगाउनुभयो । भ्रमण छोटो हुँदा यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगारेको र चीनले गरेको सहयोग पुरानै प्रक्रियाको निरन्तरता मात्र भएको दावी उहाँको थियो । साना साना आयोजनाका लागि पनि पैसा मागेर सरकारले चीनका अगाडि दरिद्रता देखाएको आक्षेप पनि लगाउनुभयो ।

एमाले नेता भीम रावलले भ्रमणको सूचना गोप्य राख्नु र चिनियाँ प्रधानमन्त्रीलाई विमानस्थलबाट सिहदरवारसम्म ल्याउँदा लगाएको अघोषित कफ्रयू लगाउनु सरकारको नालायकिपन भएको आरोप लगाउनुभयो । १० वर्षदेखि चिनियाँ उच्चस्तरीय भ्रमण नेपालमा नहुनुमा माओवादी द्वन्द्व नै कारक भएको आरोप लगाउँदै रावलले लडाकुको स्वेच्छिक अवकासका लागि चीनले रकम दिएकाले तत्कालै अवकासमा जानेलाई विदाई गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले भ्रमण आकस्मिक जस्तो देखिए पनि यो चीनको चाहना अनुसार नै भएको दावी गर्नुभयो । भ्रमण हुँदा कहिँकतै स्वतन्त्रताको हनन नगरिएको जिकीर गर्नुभयो । पौडेलले अब भारतीय प्रधानमन्त्रीको भ्रमण पनि चाँडै हुने बताउनुभयो ।