पार्टी कार्यक्रममा एक मुख भए पनि विचारको बहस नरोकिने माओवादी सीपी गजुरेलको भनाई

काठमाडौं – माओवादी सचिव सीपी गजुरेलले पार्टी कार्यक्रममा एक मुख भए पनि विचारको बहस नरोकिने बताएका छन् ।

 

‘दुइटै (अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यको प्रतिवेदन)लाई एउटै बनाउन सकिएन,’ चार महिना लामो केन्द्रीय समिति बैठक सकिएपछि उनले भने, ‘त्यसो भएपछि छलफल तलैसम्म लगिन्छ, विचार र राजनीतिको बहस जारी रहन्छ ।’

 

दाहालविरुद्ध आक्रामकरुपमा प्रस्तुत हुँदै आएका नेता गजुरेलले केन्द्रीय समिति बैठकले ‘विचारमा स्वतन्त्रता, काम कारबाहीमा एकता’ नीति लिएको बताए । ‘बैठकै नबस्नेबेला मेरो बारेमा अन्य पक्षका र अध्यक्षका बारेमा हाम्रो पक्षका अभिव्यक्ति आएकै हुन्,’ उनले भने, ‘अब कार्ययोजना र कार्यक्रममा एक भएका हौं ।’

 

सचिव गजुरेलले आफूहरु (वैद्य समूह)ले राष्ट्रघाती भनेको चार बुँदे सम्झौता कायमै रहेकाले सरकारमा नजाने दोहोर्‍याए । ‘हामी सरकारमा जादैनौं, चार बुदेको कारण गएनौं, त्यो यथावत छ,’ उनले भने ।

 

संविधानसभाका दुई प्रमुख दल कांग्रेस र एमालेले बाबुराम भट्टराईलाई नस्वीकार्ने भनिसकेकाले वर्तमान सरकार राष्ट्रिय सहमतिको हुन नसक्ने उनले बताए ।

 

प्रधानमन्त्रीलाई राजीनामा गर्न सुझाव दिंदै सचिव गजुरेलले सहमतिको सरकारको नेतृत्व गर्ने अवसर आए पार्टीले महासचिव रामबहादुर थापालाई पठाउने स्पष्ट पारे । ‘भावी नेतृत्वबारे विकल्प खुल्ला राख्छौं,’ उनले भने, ‘अध्यक्ष र उपाध्यक्ष भइसक्नुभयो अन्य दल सहमत हुन्छन् र हाम्रो दलले नेतृत्व गर्ने अवसर आए अर्को व्यक्ति (थापा)लाई दिनुपर्छ भन्ने हो ।’

 

गजुरेलले संविधान निर्माणमा अब पार्टी एक हुने बताए । ‘एकै स्वरमा उभिन्छौं,’ उनले भने, ‘किरण पक्ष चाँही संविधान चाहदैन, प्रचण्ड र बाबुराम पक्ष चाँही संविधान बनाउन लागेको छ जस्तो देखियो, अब त्यस्तो हुन्न ।’ यद्यपि उनले पार्टी निर्णयविपरीत संविधान निर्माणमा भएका सहमतिलाई भने नमान्ने घोषणा गरे ।

 

– कान्तिपुर टेलिभिजन