काठमाडौ – सभासद् श्यामसुन्दर गुप्ता पक्राउबारे मंगलबार सभामुख सुवास नेम्वाङले संसद्लाई जानकारी गराउने छन् । संसद् वैठक १ बजेका लागि बोलाइएको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले सोमबार बेलुकी सभामुखलाई ‘पवन सांघाईको अपरहणमा सभासद् गुप्ता मुख्य नाइके पाइएको प्रमाणका आधारमा पक्राउ गरिएको’ लिखित जानकारी गराइसकेको छ ।
सभासद् पक्राउमा संसद सचिवालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । संसद् चलिरहेकै अवस्थामा पनि फौजदारी अभियोगमा सभासद्लाई पक्राउ गर्न सकिन्छ ।
पक्राउ परे पनि उनको सभासद् पद रहने/नरहनेबारे संसद नियमावली मौन छ । ‘मंगलबारको सदनमा गुप्ताको पक्राउसम्वन्धी पत्र पढेर जानकारी गराउँछु’ नेम्वाङले भने ।
अपराध अनुसन्धान महाशाखाको पत्रमा ‘सांघाईको अपहरणमा गुप्ताको आपराधिक भूमिका रहेको अनुसन्धानबाट देखिएकाले पक्राउ गरिएको’ उल्लेख छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गुप्तालाई सोमवार भैरहवा बैंकरोडस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई काठमाडौं ल्याएको छ ।
दलको आधिकारितकता विवादमा गत वैशाख ४ मा सभासदबाट हटे पनि मंसिरमा सर्वोच्च अदालतको आदेशमा उनी पुनः सभासद भएका हुन् ।



