कांग्रेस सुशील कोइरालाद्धारा माओवादीलाई रोकिएको शान्ति प्रक्रिया अगाडि बढाउन आग्रह

काठमाडौ – कांग्रेस सभापति सुशील कोइरालाले माओवादीलाई रोकिएको शान्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न सोमबार दाहाल निवास पुगेका कोइरालाले यो आग्रह गरेका हुन् ।


लडाकुको वर्गीकरणपछि शान्ति प्रक्रिया अगाडि नबढेकोमा कोइरालाले दाहाल समक्ष चिन्ता व्यक्त गरेका थिए । भेटमा दाहालले आफ्नो केन्द्रीय समितिको बैठक सकिएकाले शान्ति र संविधानलाई जिम्मेवारी पूर्वक बढाउने बताए । दाहालले कोइरालालाई पनि त्यसै अनुरुप अगाडि बढ्न आग्रह गरेको दाहालका स्वकीय सचिव समीर दाहालले बताए ।


दुई नेताबीच कात्तिक १५ मा भएको ७ बुँदे र त्यसपछि भएको ६ बुँदे सहमति कार्यान्वयनको समीक्षा समेत भएको थियो । रोकिएको शान्ति प्रक्रिया, राष्ट्रिय सरकार र संविधान निर्माणमा देखिएको बाधा फुकाउन दुई शीर्ष नेताबीच छलफल भएको थियो । दुवै नेता अवरुद्ध शान्ति र संविधान प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।


भेटपछि कोइरालाले स्वेच्छिक अवकासमा जाने लडाकुलाई बिदाइ गर्ने तथा संविधान निर्माण लगायतका विषयमा छलफल भएको संक्षिप्त प्रतिक्रिया दिए ।


यसैबीच, माओवादी पदाधिकारी बैठक अपराह्न ३ बजे र सत्तारुढ माओवादी र मधेशी मोर्चाबीचको बैठक ४ बजे बस्दै छ ।