उपत्यका बन्दको क्रममा प्रहरीले झण्डै पांच सय प्रदर्शनकारी सुकुम्बासीहरुलाई नियन्त्रणमा

सुकुम्बासीहरुले आज आब्हान गरेको उपत्यका बन्दको क्रममा प्रहरीले झण्डै पांच सय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । गौशाला, नयां बानेश्वर, शान्तिनगर, त्रिपुरेश्वर, कोटेश्वरलगायतका स्थानमा यातायात अबरुद्ध गर्न खोज्ने केहीलाई नियन्त्रणमा लिईएको प्रहरीले पुष्टि गरेको छ ।

 

पक्राउ परेका सुकुम्बासीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी क्लवमा राखिएको छ । बन्दको क्रममा राजधानीका त्रिपुरेश्वर, नयां बानेश्वर लगायतका ठाउंमा केही सवारी साधनमा तोडफोड र आगजनी भएको छ । कुपण्डोलमा नेपाल समाचार पत्र दैनिक पत्रिका बोकेर गएको भ्यान तोडफोड गरिएको छ । अज्ञात ब्यक्तिहरुले पत्रिका बोकेर गएको गाडीमा तोडफोड गरेको नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले जानकारी दिनुभयो ।

 

राष्ट्रिय सुकुम्बासी मोर्चाकी उपाध्यक्ष विमला तामाङले प्रहरीले राजधानीका सुकुम्बासी बस्तिहरुमा पसेर धरपकड गरेको आरोप लगाउनु भयो । उहांले अहिलेसम्म दुई हजार भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको दावी पनि गर्नुभयो । सुकुम्बासीले बन्द आब्हान गरेको भएपनि राजधानीका सडकहरुमा सवारी साधनहरु उल्लेख्य संख्यामा चलेका छन् ।

बागमतिलगायतका नदी किनार सफा गर्ने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्ति खाली गर्ने तयारी गरेपछि सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बास्तविक सुकुम्बासीको पहिचान गरी बैकल्पिक ब्यवस्था गर्न सरकारसंग माग गरिरहेका छन् ।

यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले विज्ञप्ति जारी गरी सुकुम्बासीहरुलाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आब्हान गर्नुभएको छ ।