‘यहाँबाट उडेको ५ मिनेटपछि नै एउटा इन्जिन फेल भएको खबर आयो,’ विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले नागरिकसँग भने, ‘जहाज १०:१२ बजे काठमाडौंमा आकस्मिक अवतरण गर्यो।’
उनका अनुसार इन्जिन फेल भएको थाहा पाउँदासम्म जहाज धादिङको धार्केबाट केही पर पुगेको थियो। त्यसपछि ट्यांकीमा तेलको मात्रा घटाउन जहाजलाई धार्केमाथि आधा घन्टा आकाशमै घुमाइयो। इन्जिन फेल हुँदा जहाजको तौल कम हुनुपर्ने भएकाले यसो गरिएको हो। जानकारी पाएलगत्तै विमानस्थल व्यवस्थापनले दमकल, एम्बुलेन्स, प्रहरी, सैनिक लगायत सबैलाई सतर्क गराएको थियो।
युएईको सरकारी वायुसेवा कम्पनी इतिहादको यो जहाज बोइङ ७३७ मोडलको हो। यो जहाज अबुधाबीबाटै मंगलबार राति ८ बजे काठमाडौं आइपुगेको थियो। यो जहाज चार दिनजति काठमाडौंमै ग्राउन्डेड हुने सुमनले बताए। अबुधाबीबाट इतिहादका इन्जिनियरहरू आएर मर्मत गरेपछि जहाज उड्छ।
यस्तो घटना यो साता दोस्रोचोटि भएको हो। चार दिनअघि काठमाडौंबाट कतारको दोहा उडेको कतार एयरवेज जहाजको पनि एउटा इन्जिन फेल भएको थियो। विमानस्थल अधिकारीहरूका अनुसार पाल्पामाथि पुगेपछि एउटा इन्जिन फेल भएको थाहा पाएर भारतको लखनउमा आकस्मिक अवतरण गरेको थियो।



