काठमाडौ – विगत लामो समयदेखि रोकिएको सैन्य सहयोग सुचारु गर्न भारत सकारात्मक देखिएको छ । नेपालका उपप्रधान तथा रक्षामन्त्री विजयकुमार गच्छदार र उनका भारतीय समकक्षी एके एन्टोनी बीच बुधकार भएको भेटबार्ताका क्रममा भारतीय पक्ष सकारात्मक देखिएको हो ।
भारतमै रहेका रिपोर्टर्स क्लवका अध्यक्ष ऋषी धमलाका अनुसार भारतीय रक्षामन्त्री एन्टोनीले नेपाली सेना र भारतीय सेनाबीच परम्परागत घनिष्ठ सम्बन्ध रहेको, नेपाली सेनाका सेनापति भारतीय सेनाको र भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ सेनापति हुने परम्परा रहेको भन्दै नेपाली सेनाको विकासमा भारत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए ।
भारतले सैन्य सहयोग तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा रोकेको थियो भने पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सूचारु गर्ने तयारी भएको भए पनि माओवादीको अवरोधले रोकिएको थियो ।
त्यस अवसरमा भारतीय पक्षले नेपालमा दिगो शान्ति स्थापनाका लागि सहयोग गर्न तयार रहेको भन्दै शान्ति र संविधान निर्माणको कार्य अवरुद्ध भएको प्रति चासो राखेको थियो । प्रत्युत्तरमा गच्छदारले नेपालको शान्ति र संविधान निर्माण कार्य समयमै सम्पन्न गर्ने गरी अगाडि बढेको जानकारी दिएका थिए । उनले रक्षामन्त्री एन्टोनीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । एन्टोनीले उपयुक्त समय मिलाएर नेपाल आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
द्विपक्षीय औपचारिक वार्तामा नेपालका तर्फबाट गच्छदारसहित गृहमन्त्रालयका सहसचिव शंकरप्रसाद कोइराला, आजीपी रविन्द्र प्रताप शाह, भारतका लागि नेपाली कार्यबाहक राजदूत खगनाथ अधिकारी, सशस्त्र प्रहरीका एआईजी दोर्जे राई, नेपाली सेनाका उपरथी दमन घले सहभागी थिए भने भारतको तर्फबाट रक्षामन्त्री एके एन्टोनी, रक्षा सचिव शशीकान्त शर्मा भ्वाईस चिफ अफ आर्मी जनरल एसके सिह र नेपालकालागि भारतीय राजदूत जयन्त प्रसादको उपस्थिति रहेको थियो ।
त्यसपछि गच्छदार र भारतीय सेनाका स्थल सेनाध्यक्ष भीके सिंहबीच पनि भेटवार्ता भएको थियो । सेनाध्यक्ष सिंहले गच्छदारलाई नेपाली भाषामै बोलेर स्वागत गरेका थिए । सिंहले स्वागत छ तपाईंलाई भारतमा भनेका थिए । उनले भाषाको कारण पनि नेपाल र भारतबीचको सम्बन्ध अझै आत्मीय बनेको प्रतिक्रिया नेपालीमै दिएका थिए । गच्छदारले पनि नेपालीमै तपाईंसँग धेरै भेट भएर होला आत्मीयता झनै बढेको छ । भेटमा भारतमा गोरखा सेनाको हित अभिवृद्धि र नेपाल सेनाको सुदृढीकरणको विषयमा पनि कुराकानी भएको थियो ।
बुधबारै गच्छदार रक्षामन्त्री एन्टोनीले दिएको रात्रि भोजमा सहभागी हुने छन् भने राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठीसाग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
– कान्तिपुर