काठमाडौँ – सुडान घोटाला काण्डमा विशेष अदालतमा मुद्दा खेपिरहेका अभियुक्त शम्भु भारतीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन परेको छ।
एक हप्तादेखि अस्वस्थ भई उपचार गराइरहेका अभियुक्त भारतीलाई महानगर प्रहरी परिसर हनुमानढोकाका सादा पोशाक लगाएका प्रहरीले अपहरणको शैलीमा पक्राउ गरी लगेको भन्दै उनकी पत्नी पूर्णिमा भारती वैद्यले सो रिट दायर गरेको राससले जनाएको छ।
प्रहरीले भने एसएमएसमार्फत यौन दुर्व्यवहार गरेको उजुरीबारे सोधपुछका लागि लिन गएको प्रहरीलाई ‘जागिर खाइदिने’ धम्की दिँदै दुर्व्यवहार गरेपछि सुडान घोटालाका मुख्य अभियुक्त ठेकेदार शम्भु भारतीलाई नियन्त्रणमा लिएको बताएको छ।
नियन्त्रणमा लिएकै दिन बुधबार भारतीलाई प्रहरीले अदालत उपस्थित गराई सार्वजनिक अपराध ऐनअन्तर्गत हिरासतमै राखेर अनुसन्धान गर्न छ दिन म्याद लिएको थियो।
‘सोधपुछका लागि ल्याउन गएकै प्रहरीलाई धम्क्याएपछि भारती समातिएका हुन्,’ काठमाडौं प्रहरी परिसरका प्रमुख राजेन्द्र श्रेष्ठले बुधबार नागरिकलाई भनेका थिए। परिसर अधिकारीका अनुसार भारती पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीको बहस सुन्न विशेष अदालत बबरमहल गएको जानकारी आएपछि उनलाई नियन्त्रणमा लिन परिसरको विशेष टोली अदालत पुगेको थियो। अदालत परिसरबाट बाहिरिएपछि पछ्याउँदै गएको टोलीले भारतीलाई अनामनगरमा रोकेर हनुमानढोमा जान आग्रह गरेको थियो।
परिचयपत्र देखाउँदै हनुमानढोका जान आग्रह गरेका प्रहरीलाई बा ५ च ३९५३ नम्बरको गाडीबाटै गाली गर्दै धम्की दिएपछि टोलीले जबर्जस्ती नियन्त्रणमा लिई हनुमानढोका पुर्याएको थियो।
एसपी श्रेष्ठले उनीविरुद्ध यौन दुर्व्यवहार र प्रहरीमाथि हातपात गरेको दुवै अभियोगमा अनुसन्धान गरिने जनाए।
भारती सुरक्षा निकायमा हतियार एवं बन्दोबस्तीका सामग्री खरिदको ठेक्कापट्टामा संलग्न व्यापारी हुन्। सुडानको डार्फरमा खटिएको शान्तिरक्षक नेपाल प्रहरीको टोलीलाई अस्योर्ड रिस्क कम्पनीमार्फत किनिएका आर्म्ड पर्सनल क्यारियर (एपिसी) काम नलाग्ने देखिएपछि यो प्रकरणमा भ्रष्टाचार भएको खुलेको थियो। प्रहरीले ती एपिसी अस्योर्ड रिस्क कम्पनीको स्थानीय प्रतिनिधि भगवती ट्रेडर्समार्फत किनेको थियो। भारती भगवती ट्रेडर्सका प्रोप्राइटर हुन्।
प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षकसहितका प्रहरी अधिकारीसँगको मिलेमतोमा सुडान मिसनमा कामै नलाग्ने सामान पठाएर ३० करोड बढी घोटाला गरेको अभियोगमा उनी विशेष अदालतमा ८० लाख धरौटी तिरेर मुद्दा खेपिरहेका छन्।
चन्दसहित पूर्वआइजिपी हेमबहादुर गुरुङ, ओमविक्रम राणालगायत उच्च प्रहरी अधिकारी अदालतमा धरौटी बुझाएर तारिख धाइरहेका छन्।
अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले भारतीसँग मागेको १५ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी साउनमा डिल्लीबजार सदरखोरमा केही दिन थुनामा रहेका थिए।
पछि उनी सिभिल बैंकको ९ करोड र सिद्धार्थ बैंकको ६ करोड जमानी राखेर रिहा भएका थिए। तर पुस १२ मा सर्वोच्च अदालतले उनको धरौटी रकम १४ करोड २० लाख घटाइदिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय ताहिर अली अन्सारी र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले उनलाई ८० लाख रुपैयाँमात्रै धरौटी तिरे पुग्ने फैसला गरेको थियो।
– नागरिक