पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिको बिरुद्धमा प्रदर्शन

काठमाडौ – पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिको बिरुद्धमा आइतबार पनि राजधानीमा बिहानैदेखि प्रदर्शनहरु भए । प्रदर्शनका कारण सार्वजनिक सवारी न्यूनमात्र चलेका देखिन्थे भने बिहानैदेखि विभिन्न क्याम्पसहरुमा विद्यार्थीले प्रदर्शन गरे ।

सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणले सास्ती खेप्नु पर्‍यो । फाट्टफुट्ट निजी सवारी साधन चलिरहे पनि ठाउँठाउँमा प्रदर्शनकारीले अवरोध गरेका थिए । यद्यपी मध्यान्ह विद्यार्थी प्रदर्शन हटेपछि सवारी सुचारु रह्‌यो ।

केही दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिको विरोधमा विभिन्न दल सम्बद्ध विद्यार्थी तथा युवा संगठनहरुले आन्दोलन घोषणा गरेका छन् ।

कान्तिपुरका अनुसार आइतबार साढे १० बजेतिर कोटेश्वरमा खानेपानी डिभिजन कार्यालय भक्तपुरको मोटरसाइकल जलाएका छन् । कोटेश्वर चोकमा प्रदर्शन गरिरहेकाहरुले कार्यालयकै कर्मचारी यामप्रसाद पाण्डे चढेको मोटरसाइकल जलाएका हुन् ।