काठमाडौं – अबरुद्ध शान्ति प्रक्रिया र संविधान निर्माणलाई तीब्रता दिन प्रधानमन्त्री बाबुराम भट्टराई र कांग्रेस सभापति सुशील कोइराला सहमत भएका छन् ।
कोइरालासँग आइतबार अपरान्ह टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणलाई तीब्रता दिने विषयमा छलफल गरेका हुन् । ‘सरकार सवै राजनीतिक दलहरुसँग सहमतिको वातावरण तयार गरेर अगाडि बढ्न चाहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्यृत गर्दै स्वकीय सचिव विश्वदीप पाण्डेले भने ।
पाण्डेका अनुसार सोमबार नै शीर्ष नेताहरुको बैठक बसेर सहमितमा पुग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । ‘जनसत्ता’को निर्णयलाई सरकारले वैद्यता दिएको भन्दै विपक्षी कांग्रेस-एमाले माओवादीसँग वार्तामा बस्न मानेका छैनन् भने संसद् बैठक चल्न दिएका छैनन् ।
दलहरुबीच संवादहीनता बढ्दै जाँदा शान्ति प्रक्रिया र संविधान निर्माणमा गतिरोध आएकोमा चिन्तित प्रधानमन्त्री भट्टराईले आइतबार साँझ एमाले नेता केपी शर्मा ओलीसँग भेट्दैछन् । प्रधानमन्त्रीले सहमतिका लागि आइतबार नै एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् भने एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग टेलिफोन सम्वाद गरेका छन् ।



