संविधानसभाको म्यादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश जायज भएको मोहनविक्रम सिंहको धारणा


– विनोद त्रिपाठी

 

चितवन – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले संविधानसभाको म्यादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश जायज भएको बताएका छन् ।

संविधानसभाको अकर्मण्यतालाई हेर्दा अदालतको आदेश सही छ, भरतपुरमा आयोजित पत्रकार भेलामा उनले भने, ‘तोकिएको मितिमा संविधान बनाउन नसक्ने संविधानसभाको कुनै अर्थ छैन ।’यो संविधानसभाले जेठ १४ सम्म संविधान बनाउन नसक्ने ठोकुवा गर्दे कानुनी राज्य भएकाले सर्वोच्च अदालतले दिएको आदेश मान्नुको विकल्प नभएको उनले बताए ।

देश उग्रवामपन्थीको चंगुलमा फसिसकेको छ, माओवादीको मोहन वैध पक्षधरलाई इगिंत गर्दै महामन्त्री सिंहले संविधान बनाउन रोक्न माओवादीको एक समूह ज्यान फालेर लागेको उल्लेख गरे । जेठ १४ सम्म संविधान नबने गणतन्त्र संस्थापन नहुन सक्छ, देश उग्रवामपन्थीको कब्जामा जाने खतरा व्यापक छ, त्यसका लागि सम्पूर्ण गणतन्त्र पक्षधर चनाखो बन्नुपर्ने उनको धारणा छ । संविधान नबन्दाको अराजकतालाई थेग्न नसक्दा प्रतिगमनको खतरा हुने भएकोले गणतन्त्र धरापमा पर्ने सम्भावना बढेर गएको छ, उनले भने, ‘माओवादी भित्रको मतभेद अहिले संविधान नबन्ने मुल जड हो ।’माओबादीले घर जग्गा कब्जा, जनसत्ताका नाममा भएका द्वन्द्वका निर्णय र सेनामा पदको बार्गेनिङ गरेर संविधान निर्माण भांड्न खोजेको उनको आरोप छ । मधेशवादी दलसँग ४ बुंदे सम्झौता गरेर सरकारले नेपाली जनतालाई धोका दिएको उनले आरोप लगाए ।

संघीयताका प्रखर विरोधी कम्युनिष्ट नेता सिंहले यही संबिधानसभाको संरचनाबाट राज्य पुनर्संरचना कुनै हालतमा हल नहुने ठोकुवा गरे । संघीयताको कुरा उठाएर सरकारले जनतामा फाटो ल्याउने काम गरेको छ, उनले भने, ‘नेपाल जस्तो सार्वभौम मुलुकमा संघीयता सफल भएको उदाहरण विश्वमा कहीं छैन ।’ राष्ट्रिय जनमोर्चाको भूमिगत संगठन नेकपा मसाल अन्य पार्टीसँगको एकतामा नजाने उनले प्रष्ट्याए ।

फोटो र भिडियो खिच्न अनुमति

कम्युनिष्ट नेता सिंहले सधैं चितवन आउँदा हुने पत्रकार भेटघाटमा क्यामेरा प्रतिबन्ध लगाउँदै आए पनि सोमबार उनले फोटो सार्वजनिक गर्न अनुमति दिए । आफू अझै अर्धभूमिगत भए पनि फोटो र भिडियो खिच्न सबैलाई अनुमति दिएको बताए । चितवनका सबै पत्रकारले उनको तस्बिर र भिडियो खिचेको थिए । म सार्वजनिक कार्यक्रममा देखिन्न, म अझै पार्टीको निर्णय बमोजिम भूमिगत नै छु, तर फोटो र भिडियो सार्वजनिक गर्न पाउनुहुन्छ, उनले भने, ‘हाम्रा दर्जनौं बुद्धिजिवी साथीहरू अहिले पनि भूमिगत नै छन् ।’ उनले भूमिगत नै भए पनि संगठन निर्माण र विभिन्न कार्यक्रममा खुला रूपमा उपस्थित हुने बताए । ठूला आमसभामा म जान्न, आफ्ना निकटका कार्यकर्ता बीच म सार्वजनिक हुनेछु, उनले भने ।