
काठमाडौ, माघ ११ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न
राजनीतिक दल निकट युवा तथा विद्यार्थी संघ संघठनहरुले आव्हान गरेको बन्दले
राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ ।
१३ विद्यार्थी र ९ युवा संगठनले संयुक्त रुपमा बन्दको आव्हान गरेका हुन् ।
सत्तापक्षीय माओवादीका भातृसंगठन पनि आन्दोलनमा सहभागी छन् ।

पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार उपत्यका बन्दको मात्र आव्हान
गरिएपनि विभिन्न जिल्लाहरुमा पनि बन्द गराइएको छ । उपत्यकाका सडकहरु
विहानैदेखि सुनसान छन् । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल
पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो
संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी आयुक्त
कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठले बन्द कर्ताले ठाउँ ठाउँमा
प्रदर्शन जारी राखेपनि बिहान ९ बजेसम्म कुनै अप्रिय घट्ना नभएको र कसैलाई
पक्राउ नगरिएको ईकान्तिपुरलाई बताए ।
आन्दोलनमा तरुण दल, वाईसीएल, युवा संघ, नेविसंघ,अनेरास्ववियू,अखिल
क्रान्तिकारी, मधेशी मोर्चामा आवद्ध विभिन्न दल निकट युवा तथा विद्यार्थी
संगठन लागायतको सहभागिता रहेको छ । ती संगठनहरुले थप आन्दोलनको कार्यक्रम
आजै घोषणा गर्ने तयारी गरेका छन् ।

सिन्धुलीमा बन्दकर्ताले एउटा यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।
मरिनखोलाबाट सदरमुकाम आउँदै गरेको ना।४।ख २४२७ नम्वरको बस धुराबजारमा
तोडफोड गरिएको छ । सदरमुकाम तथा वीपी राजमार्गमा यातायात संचालनमा आएको छैन
।
दाङमा बन्दले जनजीवन प्रभावित भएको छ । जिल्लाभित्र र बाहिर कुनै पनि सवारी
साधन चलेका छैनन् । पूर्वपश्चिम राजमार्गको दाङ सडक खण्ड पनि पूर्णरुपमा
ठप्प भएको छ ।

गत साता सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेपछि युवा तथा
विद्यार्थी संगठनहरु मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन घोषणा
गरेका थिए । सरकार मूल्यवृद्धि फिर्ता लिने पक्षमा नभएपनि विद्यार्थीलाई
इन्धनमा सहुलियत दिने योजना अघि सारेको छ ।




