बुटवल – कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारले देश र जनतालाई झुक्याउने खेलमात्र खेलेको बताउँदै यो सरकारलाई हटाउनुपर्ने बताएका छन् ।
माओवादीले विभिन्न बखेडा झिकेर शान्ति प्रक्रिया अवरुद्ध पारेको कुरा उल्लेख गर्दै उनले एमाओवादी इमान्दार नभएसम्म नयाँ संविधान नबन्ने स्पष्ट पारे ।
नेपाल पे्रस युनियन रुपन्देहीद्वारा बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्री महतले नयाँ कुरा अघि सारेर एमाओवादीले ध्यान अन्यत्र मोड्न खोजेको आरोप पनि लगाए ।
एमाओवादी र मधेसी मोर्चाको एकआपसका स्वार्थ पूरा गर्ने अवसरवादी गठबन्धनबाट बनेको वर्तमान सरकारले गरेका अवैधानिक र आपत्तिजनक निर्णयहरु तत्काल खारेज हुनुपर्ने कुरामा जोड दिँदै नेता महतले वर्तमान सरकार मुलुकको इतिहासको भ्रष्टाचार र कुशासनको नमुना सरकार भएको बताए । रासस



