प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बसेको बैठक निष्कर्षविहीन

काठमाडौ – प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बिहीबार बिहान बसेको बैठक निष्कर्षविहीन भएको छ । ‘जनसत्ता’ले गरेको निर्णयलाई वैद्यता दिने सरकारको निर्णय फिर्ता हुन नसक्ने माओवादीले अडान लिएपछि बैठकमा कुरा मिल्न सकेन ।

लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बैठक भएको थियो । माओवादीले कुरा फेरेकाले सहमति नजुटेको प्रतिपक्षी कांग्रेस र एमालेले आरोप लगाएको छ । यसअघिको बैठकमा माओवादी नेताले सरकारी निर्णयमाथि पुर्नविचार गर्न सक्ने जनाएको थियो । आजको बैठकमा माओवादीले निर्णय तत्काल कार्यान्वयन नगर्ने तर फिर्ता लिन नसक्ने बताएपछि कांग्रेस-एमाले झस्किएका छन् ।

बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले निर्णयमाथि पुर्नविचार नगर्ने बताएपछि सहमति नजुटेको बताए । उनले भने-‘माओवादीको यस्तो व्यवहारबाट दलहरुबीच दुरी बढाउने छ ।’

कांग्रेस नेता रामशरण महतले यसअघिका बैठकमा ‘जनसत्ता’को कामलाई वैधानिकता दिने सरकारी निर्णय पुर्नविचार गर्न सकिने प्रतिवद्धताबाट माओवादी पछि हटेको बताए । उनले माओवादीको यस निर्णयबाट सेना समायोजन विशेष समिति र संसद बैठक प्रभावित हुने बताए । सरकारी निर्णयको विरुद्धमा प्रतिपक्षी कांग्रेस र एमालेले लगातार संसद अवरुद्ध गरिरहेको छ ।

माओवादी उपाध्यक्ष मोहन वैद्यले सरकारले गरेको निर्णयबाट पछि हट्न नसकिने बताए । उनले यसकारण शान्ति र संविधान प्रक्रिया रोकिए त्यसको जिम्मेवार कांग्रेस र एमाले हुने उल्लेख गरे । तीन दलको बैठकअघि बसेको माओवादी पदाधिकारी बैठकले ‘जनसत्ता’ सम्बन्धी सरकारले गरेको निर्णय फिर्ता नलिन निर्णय गरेको थियो ।