2.jpg)
विज्ञान अधिकारी
काठमाडौं – सरकारले एक साता अघि पेट्रोलिमय पदार्थमा गरेको मूल्य वृद्धि घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। वाणिज्य मन्त्री लेखराज भट्टले मन्त्रालयमा पत्रकार सम्मेलन पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको जानकारी दिएका छन्। यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ८५ रुपैयाँ घटाउने निर्णय सरकारले लिएको छ। वाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने- ‘प्रधानमन्त्रीको निर्देशन र वाणिज्य मन्त्रालयको अवधारणा अनुसार मूल्य घटाइएको हो।’ मूल्य वृद्धि घटाएपछि तेल पाउन कठिन हुने उनले बताए। ‘अहिले नै समस्या थियो मूल्य घटाएपछि अब कसरी तेल ल्याउने ?’ मन्त्री भट्टले भने- ‘तेल ल्याउने हो भने अर्थ मन्त्रालयले पैसा दिनुपर्छ।’ अहिलेको समस्याको जड अर्थ मन्त्रालय रहेको जिकिर गर्दै मन्त्री भट्टले अर्थमन्त्रालयले समन्वय नगर्दा समस्या जटील बन्दै गएको आरोप लगाए। ‘कर्मचारीले एकै दिनमा निर्णय हुने तर जनताको मुद्दामा महिनौं कुराउने प्रवृत्ति अर्थमन्त्रालयमा देखियो’, मन्त्री भट्टले आक्रोस पोखे- ‘जनताको विषय लिएर अर्थ मन्त्रालयमा भीख माग्दै हिँड्नु परिरहेछ। यो कस्तो बिडम्बना हो !’
यता पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी संगठनहरु सरकारले केही घटाएको मूल्य वृद्धि अपूर्ण भएको भन्दै पूरै मूल्यवृद्धि फिर्ताको सर्तमा अडिग देखिएका छन्। १३ विद्यार्थी संगठनको चलिरहेको बैठकमा एमाले, कांग्रेस समर्थित विद्यार्थी संगठनले पूरै मूल्य वृद्धि फिर्ता हुनुपर्ने धारणा राखिरहेका छन्। नेविसंघ नेता कुन्दन काफ्लेले भने- ‘बैठकमा विभिन्न विचार आइरहेका छन्। पूरै मूल्य वृद्धि फिर्ता नभए आन्दोलन रोकिँदैन।’