राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी फेरि फुट्यो

– माधव ढुङ्गेल

 

काठमाडौँ – राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी फेरि फुटेको छ। सभासद्द्वय गौरी महतो कोइरी र रामनरेश रायले राष्ट्रिय सद्भावना पार्टी नाम गरेको अर्को पार्टी गठन गरेको घोषणा आज गरेका हुन्। स्वास्थ्य मन्त्रीसमेत रहेका महतो भने अहिले भारत भ्रमणमा छन्। संविधान सभाको निर्वाचनपछि नौ सभासद रहेको सद्‍भावनाबाट चार जना फुटेर यसअघि अनिल झाको नेतृत्वमा संघीय सद्‍भावना पार्टी गठन गरेका थिए।

त्यसपछि बाँकी रहेका पाँच जनामध्ये दुई जनाले सभामुख सुवास नेम्वाङलाई भेटी नयाँ पार्टी गठन गरेको जानकारी दिएका हुन्। उनीहरुको निवेदनमा रहेको हस्ताक्षरलाई सभामुखले सनाखत गरिदिएका छन्


४० प्रतिशत सभासद्ले नयाँ पार्टी गठन गर्न चाहेमा पाउने कानुनी प्रावधान छ।


पार्टी फेरि फुटेपछि अध्यक्ष महतोसँग अब सहअध्यक्ष लक्ष्मणलाल कर्ण र सभासद् सरोज यादवमात्र बाँकी छन्। पार्टी फुटाउने सभासद् रामनरेश राय अध्यक्ष महतोकै जिल्ला सर्लाहीका हुन्। यसअघि अनिल झाको नेतृत्वमा पार्टी फुटाउनेहरुमा खोभारी राय, महेशप्रसाद यादव र मालामती देवी राना थिए।