सरकारले सूचना दिन बन्देज गर्नु गलत भएको काँग्रेस शेरबहादुर देउवाको भनाइ

रत्ननगर, चितवन – काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारले सूचना दिन बन्देज गर्नु गलत भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता देउवाले उक्त कुरा बताएका हुन् ।

सुरक्षामा खलल पुर्याउने र अन्तर्राष्ट्रिय सम्बन्ध बिथोल्ने खालका सूचना दिन बन्देज गर्नु सकारात्मक भए पनि अन्य सूचनामा बन्देज लगाउनु सरकारको कमजोरी रहेको उनको भनाइ थियो ।

केही दिनअघि मात्रै सरकारले विभिन्न सूचना गोप्य राख्न मातहतका निकायलाई निर्देशन दिएको थियो ।

उनले अहिलेका ७५ वटै जिल्लालाई राज्य बनाउनुपर्ने आफ्नो अभिव्यक्ति निजी भएको भन्दै बनेको संरचना बिगार्न नहुने विचार व्यक्त गरे । पार्टी विवादको विषयमा पत्रकारहरुले जिज्ञासा राख्दा त्यसबारे उहाँले केही बोलेनन् ।