काँग्रेसका शेरबहादुर देउवाद्धारा मुलुकलाई संघीय ढाँचामा लैजाँदा ७५ वटा प्रान्त निर्माण गर्नु उपयुक्त हुने धारणा ब्यक्त

चितवन  – कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले सहमति कार्यान्वयन नगरेका कारण शान्ति र संविधान धरापमा परेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो पटक माओवादीले सातबुँदे सहमतिलाई कार्यान्वयन नगरेका कारण देशमा राजनीतिक गतिरोध पैदा भएको बताए । ‘पार्टीभित्र सम्मानजनक तरिकाले विवाद समाधान गर्नुपर्छ,’ उनले भने ।

सहमति विपरीत भ्रातृ सङ्गठन विघटन गरिएका कारण पार्टीभित्रको विवाद बाहिर आएको उनले दाबी गरे । ‘पार्टी एकीकरण हुँदा भएको सहमति विपरीत भ्रातृ सङ्गठन विघटन भएको छ,’ देउवाले भने ।

नेता देउवाले राज्य पुनःसंरचनाका विषयमा दलबीचमा सहमति हुन नसके ७५ वटै जिल्लालाई प्रान्त बनाउनुपर्ने आफ्नो धारणा रहेको बताए । उनले भने, ‘सहमतिमा आउन नसकेर किचलो गरिरहने हो भने ७५ प्रान्त उत्तम हुने छ ।’

संवैधानिक राष्ट्रपति र संसदबाट प्रधानमन्त्री चयन गर्नु उत्तम शासकीय स्वरुप भएको पनि उनको भनाइ थियो । रासस