सरकारले विभिन्न मन्त्रालयका १९ जना सचिवको सरुवा गरेको छ । आज साँझ प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद वैठकले १९ जना सचिव र ४ जना क्षेत्रीय प्रशासकको सरुवा गरेको हो । साथै सरकारले लोडसेडिङ घटाउनका लागि तयार पारिएको दश बूँदे लोडसेडिङ न्यूनीकरण कार्ययोजना स्वीकृत गरेको छ भने नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न अर्थ मन्त्रालयबाट २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा सम्वन्धी व्यवस्था गर्न बनेको विधयेक मन्त्रीपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको छ । बैठकले विद्यालय सुधारका लागि डेनमार्कले दिने १ अर्ब ७८ करोड ५० लाख र जापान सरकारले दिने १ अर्ब ६२ लाखको स्वीकृति गर्ने निर्णय गर्दै वैदेशिक रोजगारी नीति स्वीकृत समेत गरेको छ । त्यस्तै हेटौंडा बर्दघाट १ सय २० केभी प्रसारण लाइन निर्माणका क्रममा मकवानपुर र चितवनमा पर्ने १ सय ७८ हेक्टर क्षेत्रको बन कटानी गर्ने स्वीकृति समेत दिएको छ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले नेपाली सेनामा मधेशी भर्नाको सम्वन्धमा गृहकार्य गर्ने निर्णय समेत भएको दाबी गर्नुभयो ।



