न्युयोर्क – खजानाको खोज गर्ने एक अमेरिकीले दोस्रो विश्वयु्द्धका क्रममा डुबाइएको प्लेटिनमसहितको जहाज पत्ता लगाएको दाबी गरेका छन्। यसको वर्तमान मूल्य तीन अर्ब डलर हुन्छ।
एसएस पोर्ट निकल्सन नामको यो जहाज १९४२ मा डुबेको र अहिले यसको अवशेष अमेरिकी एटलान्टिक तटबाट लगभग ८० किलोमिटरको दूरीमा समुन्द्रमा रहेको ग्रेग बुक्स नामका ती व्यक्तिले बताएको बीबीसीले जनाएको छ।
एसएस पोर्ट निकल्सन एक बेलायती व्यावसायिक जहाज थियो, जसमाथि जर्मनीले बम आक्रमण गरेको थियो। त्यसमा छ जनाको मृत्युसमेत भएको थियो।
केही व्यक्तिले यसमा प्लेटिनम राखिएको शंका जाहिर गरेका छन्। अब समुद्रीय कानुनअन्तर्गत यसको स्वामित्वलाई लिएर झमेला हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन्।
बेलायती सरकारका वकिल एन्टनी सुस्ताले त्यस जहाजमा प्लेटिनम भए नभएको पक्का नभएको बताएका छन्।
एजेन्सी