पुनर्वगीकरणका क्रममा स्वैच्छिक अवकाश रोजेका लडाकुहरुको बिदाइ प्रकृया शुरु

सेना समायोजन विशेष समितिले गरेको माओवादी लडाकुहरुको पुनर्वगीकरणका क्रममा स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकुहरुलाई रकम दिंदै बिदाई गर्ने काम शुक्रबारबाट शुरु भएको छ।


यसबाट ठप्प शान्ति प्रक्रिया थोरै भए पनि अघि बढ्ने संकेत मिलेको कतिपयको धारणा छ।


अवकास रोजेका सात हजार बढी लडाकु बिदाइ गर्नको निम्ति सेना समायोजन विशेष समितिको निर्णय अनुसार शुक्रबार सात मुख्य शिविरहरु मध्ये दुईमा लडाकुहरुलाई चेक हस्तान्तरण गरियो।


नवलपरासीको झ्याल्टुङ डांडा र चितवनको शक्तिखोरमा चेक वितरण शुरु भएको बताइएको छ।


यो प्रक्रिया शुरु भएसंगै स्वैच्छिक अवकास रोजेका ७,००० भन्दा बढी माओवादी लडाकुहरु अब आ,आफ्नो घर जाने माओवादी कमाण्डरहरुले बताएका छन्।


शक्तिखोर पुगेका विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले केही साता अघि गरिएको पुनर्वर्गीकरणको आधारमा तह अनुसार माओवादी लडाकुहरुलाई रकम हस्तान्तरण गरिएको बताए।