जनमोर्चा नेपालद्धारा राज्य पुनर्संरचना आयोगले मुलुकको अखण्डता, जातीय एकतामा विभाजन ल्याउने खालको भएको भन्दै आपत्ति प्रकट

काठमाडौ – जनमोर्चा नेपालले राज्य पुनर्संरचना आयोगले मुलुकको अखण्डता, जातीय एकतामा विभाजन ल्याउने खालको भएको भन्दै आपत्ति प्रकट गरेको छ । पार्टीको शुक्रबारको केन्द्रिय समिति बैठकले राज्य पुनर्संरचना गर्दा नेपाललाई बहुराष्ट्रवाद, आत्मनिर्णयको अधिकार, जातीय र क्षेत्रीय प्रदेश र स्वायत्त हिमाल प्रदेश वा समग्र मधेश प्रदेश जस्ता विचारले मुलुक विभाजनतर्फ र गृहयुद्धमा धकेलिन सक्ने भएकोले त्यस्तो विचारलाई समर्थन नगर्न सबै पक्षसँग आह्वान गरेको छ ।

दुबै छिमेकी मुलुकहरुसम्म प्रदेशको पहुँच हुने गरी हिमाल, पहाड, तराई मिसिएको, विविधता समेटिएको, बढीमा तीन वा चार प्रदेश केन्द्रको इकाइको रुपमा रहने गरी तोक्दा उपयुक्त हुने ठहर पार्टीले गरेको महासचिव साध्यबहादुर भण्डाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकले राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकलाई निकास दिने ठहर गर्दै बाबुराम भट्टराई नेतृत्वको सरकारको विकल्प खोज्न आग्रह गरेको छ । पार्टीले सरकारलाई दिएको आलोचनात्मक समर्थन फिर्ता लिएको छ । – कान्तिपुर