सिन्धुपाल्चोकको चौतारामा आइतवार राप्रपा र राजपाको एकता अधिबेशनमा वोल्दै पूर्व प्रधानमन्त्री तथा राजपाका अध्यक्ष सूर्यबहादुर थापाले सरकार राज्य सञ्चालनमा असफल भएको आरोप लगाए । मुलुक आकस्मिक दूर्घटनातिर लम्केको भन्दै पूर्व प्रधानमन्त्री थापाले मुलुकको अस्मिता खतरामा परेको पनि दावी गरे । उनले सरकारका मान्छेहरु पार्टी र व्यक्तिगत रुपमा मुलुकको ढुकुटी रित्याउन लागेका भन्दै आक्रोस पनि पोखे ।
राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले माओवादीले जातीय राजनीतिलाई प्रश्रय दिएर नेपाली, नेपालीबीचको एकतालाई विखण्डन गराउन खोजेको आरोप लगाए । उनले राप्रपाले जातीय राज्य स्वीकार्न नसक्ने भन्दै माओवादी र ठूला तीन दलका कारण संविधान निर्माण हुन नसकेको बताए ।
कार्यक्रममा राजपाका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले कानुनी राज्यको अवधारणाको अन्त्य भएको दावी गरे । उनले मुलुकलाई जोगाउन राष्ट्रवादी शक्तिको खाँचो रहेको बताए । कार्यक्रममा पूर्व मन्त्री वुद्धिमान तामाङले ताम्सालिङ राज्य आफूलाई स्वीकार नहुने बताए ।



