शान्ति प्रक्रिया, संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार बनाउन बसेको तीन दलको बैठक उपलब्धिविहीन


 

सत्तारुढ मुख्य दल एकीकृत नेकपा माओवादी र मुख्य विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीचको आइतबारको बैठक उपलब्धिविहीन भएको छ।

शान्ति प्रक्रिया, संविधान लेखन र अवरुद्ध हुँदै आएको सदन खोलाउन आफुहरुले राखेको चासोको जवाफ माओवादीले नदिएको आरोप कांग्रेसको छ।


माओवादीले भने आगामी दिनमा क्रमश‌: समाधान खोजिने बताएको छ।


साना दलहरुसँग दुई दिनसम्म भएको बैठकपछि उनीहरुकै सुझावमा शान्ति प्रक्रिया संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा कुराकानी गर्न मुख्य तीन दलको बैठक बसेको थियो।


बैठकपछि मुख्य विपक्षी नेपाली कांग्रेस असन्तुष्ट देखिएको थियो।


बैठकमा सहभागी कांग्रेस नेता डा रामशरण महतले भने, “कुनै पनि विषयमा कुरा मिलेन। हाम्रा कुराहरुको उनीहरुले जवाफ दिन चाहेनन्।”


द्वन्द्वकालमा माओवादी जनसत्ताका नाममा भएका घरजग्गा सम्बन्धी कारोबारलाई वैधता दिने सरकारी निर्णय फिर्ता गर्न माग राख्दै विपक्षीहरुले केही समय यता संसद अवरुद्ध पार्दै आएका छन्।


आइतबारको बैठकमा पनि खासगरी कांग्रेसले उक्त विषयमाथि जोड दिएको थियो।


माओवादीले भने जनसत्ताको कुरा अदालतमा प्रवेश गरिसकेकाले त्यसलाई छोडेर राष्ट्रिय सहमतिको सरकारको पहल तत्काल शुरु गर्न आग्रह गरेको थियो।

 

बैठकमा सहभागी माओवादी उपाध्यक्ष मोहन बैद्यले भने, “अरु विषयमा पनि लामो छलफल गरौं भन्दै मिति तय गरेर हामी उठेका हौं।”