काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेकपा एमालेले अवकाशमा जाने लडाकुले पाएको चेक माओवादीले खोसेको प्रति कडा आपत्ति जनाएका छन् । सोमबार बसेको दुई दलको बैठकले माओवादी शान्ति र संविधान प्रक्रियाप्रति जिम्मेवार नदेखिएको ठहर समेत गरेको छ ।
एमाले मुख्यालय बल्खुमा बसेको दलको बैठकले संयुक्त वक्तव्य जारी गरेर माओवादीको रवैयाप्रति कडा आपत्ति जनाएको हो । दुई दलले तत्काल सहमतिको बाटोमा आउन माओवादीलाई आग्रह समेत गरेका छन् ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले माओवादीको गलत निर्णयहरुले शान्ति र संविधान प्रक्रियामा बाधा उत्पन्न भएको बताए । ‘संविधान जारी गर्ने समय अब साढे ३ महिना मात्र बाँकी छ,विवादित विषयमामा माघ २९ भित्र सहमति जुटाइसक्नुपर्नेछ,’खनालले भने- ‘तर त्यस तर्फ सत्तारुढ माओवादी गम्भीर देखिएका छैनन् ।’ उनले ‘जनसत्ता’ को निर्णयलाई वैद्यता दिने आयोग्य लडाकुलाई पनि पैसा दिने जस्ता गलत निर्णय माओवादीले सच्याएर सहमतिको दिशामा अग्रसर हुनुपर्ने उल्लेख गरे । लडाकुले न्यायोचित ढंगले पाएको रकमबाट पार्टीले भाग खोज्नु कुनै हालतमा मान्य नहुने उनले बताए ।
माओवादीले आफ्नो रवैयामा परिवर्तन नल्याए दुई दल गम्भीर कदम चाल्न बाध्य हुने खनालले बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले लडाकु समायोजनका विषयमा नेपाली सेनालाई दिएको निर्देशन पनि सार्वजनिक हुनुपर्ने दुई दलको माग रहेको उनले बताए । ‘७ बुँदे तथा ६ बुँदे राष्ट्रिय सहमति अनुसार नेपाली सेनलाई निर्देशन दिइनुपर्छ,’ खनालले भने ।
कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादीले शान्तिको नाममा त्याग केही नगरेको र लिने काम मात्र गरेको भन्दै अहिले पनि अल्मल्याएर अघि बढ्न चाहेको बताए । उनले माओवादीका निर्णय हरु शान्ति प्रक्रिया विपरीत रहेकेा दुई दलको निष्कर्ष रहेको जनाए । ‘शान्ति प्रक्रिया र संविधानमा सहमति गर्ने विषयमा पनि माओवादी इच्छुक देखिएको छैन,’पौडेलले भने-‘स्थिति गम्भीर छ । सरकार र माओवादीलाई सहमतिको दिशामा आउन आग्रह छ ।’ उनले लडाकुको चेक खोस्ने काम आपत्ति जनक रहेको बताए ।
अवकाशमा जाने लडाकुले पाएको रकमबाट ४० प्रतिशत पार्टीलाई दिनुपर्ने भन्दै केही शिविरका कमाण्डरले चेक खोसेको सार्वजनिक भएको छ । कान्तिपुर



