चितवनस्थित माओवादीको तेस्रो डिभिजन शक्तिखोरमा स्वेच्छिक अवकासका लागि चेक बुझेका लडाकुलाई तत्काल शिविर छाड्न दबाव दिँदै कुटपीट गरिएको छ । गएराति लडाकुको एक समूहले शिविरभित्रै कुटपीट र घेराबन्दी गरेको कम्पनी कमान्डर हुमबहादुर खड्काले जानकारी दिए । सरकारले माघको समेत रासन र भत्ता उपलब्ध गराउने बताएका बेला शिविर व्यवस्थापन पक्षले भत्तापछि पठाइ दिने भन्दै चेक बुझेका लडाकुलाई शिविर छाड्न दबाब दिएपछि विवाद भएको हो । स्वेच्छिक अवकासमा जाने लडाकुले माघ महिनाभर आफुहरु शिविरमा रहने र यथासक्य छिटो माघ महिनाको भत्ता उपलब्ध गराउन माग गरेका थिए ।
उता, स्वेच्छिक अवकास रोज्ने सात मूख्य शिविरका माओवादी लडाकुलाई विदाइका लागि चेक बुझाउने काम भने सकिएको छ । केही शिविरमा प्राविधिक कारणले रोकिए बाहेक सबै मुख्य शिविरका लडाकुको विदाई सकिएको सेना समायोजन विशेष समिति मातहतको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य शिविरमा चेक हस्तान्तरण गरेर लडाकु विदाईको काम सकिएपछि सहायक शिविरमा रहेका लडाकुको विदाइको काम सुरु गरिएको छ । देशका विभिन्न भागमा २१ सहायक शिविर छन् । हिजोसम्ममा मुख्य र सहायक शिविका ३ हजार ५ सय ४२ लडाकुलाई चेक बाँडिएको संयोजक शर्माले जानकारी दिनुभयो । सुर्खेतको दशरथपुरस्थित लडाकु शिविरमा बहिर्गमनमा परेका लडाकुले तोडफोड गरेपछि हरेक शिविरमा सुरक्षा सतर्कता बढाइएको सचिवालयले जनाएको छ ।



