मन्त्रालयले माघ महिना सुरु भएपछि ५ सय ३५ जना सरुवा गरिसकेको छ, जसमा धेरैजसो एक ठाउँमा दुई वर्ष नपुगेकालाई सरुवा गरी नियमावली मिचेको हो । सरुवा भएकामा कम्युप्टर अप्रेटर, टाइपिष्ट, सवारी चालक र कार्यालय सहयोगीलगायत छन् ।
मन्त्रालयका अधिकारीका अनुसार सामान्य प्रशासनमन्त्री रामकुमार यादवले नयाँ सहसचिव कृष्णबहादुर राउतलाई आफ्नै निवासमा बोलाएर माघ १५ गते राती कर्मचारीको सरुवाको सूची तयार गरेका हुन । नियमावलीअनुसार सामान्यले एक ठाउँमा दुई वर्ष कार्य गरेका कर्मचारीलाई मात्र माघ महिनामा सरुवा गर्न पाउँछ । सरुवा भएका कर्मचारीलाई मन्त्रालयको छापसमेत नलगाइएको चिठी थमाइएको छ ।
माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको अगुवाइमा दुई वर्ष अवधि नपुगेका कर्मचारीलाई सरुवा गरिएको हो । माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रवास साहले आफूलाई सरुवाबारेमा थाहा नभएको बताए । ‘मैले पनि सुनेकोमात्र छु’ उनले भने ।
मन्त्रालयका सचिव तिलकराम शर्मालाई समेत जानकारी नगराई रातारात कर्मचारीको व्यापक सरुवा गरिएको हो । सचिव शर्माले आफू मन्त्रालय उपस्थित नहुदै सरुवा गरिएको बताए ।
कति जना कर्मचारीलाई सरुवा गरिएको छ भन्नेबारेमा पनि आफूलाई थाहा नभएको उनले बताए ।
मन्त्रालयको लेटर प्याडमा छाप नभएकाबारे उनले भने ‘प्रक्रियातग त्रुटि भएको होला’ । तत्कालीन सामान्य प्रशान सचिव प्रतापकुमार पाठकलाई समेत जानकारी नदिई उनले कर्मचारीको सरुवा गरेका थिए । सचिव पाठकले मन्त्री यादवलाई नीति अनुसार कर्मचारीको सरुवा गर्न भनेपछि १७ गते उनको सरुवा गरिएको थियो ।
उपत्यकाका मालपोत कार्यालय, आन्तरिक राजस्व, यातायात, अर्थमन्त्रालय, भैरवा र वीरगंज भन्सार, लगायतका आर्थिक हिसावले आकर्शक कार्यालयमा आफ्ना निकट कर्मचारीलाई सरुवा गरेको छ । सरुवाबारे हालसम्म कसैलाई जानकारी गरिएको छैन ।
कर्मचारी संगठनले विरोध गर्ने सम्भवाना देखेपछि मन्त्री यादवले एमाले सम्बद्ध कर्मचारी संगठनका अध्यक्ष भोला पोखरेल र उपाध्यक्ष राजन रेग्मीलाई माघ २२ गते आफ्नै निवासमा बोलाएर ५३ जना गाविस सचिवको मात्र सरुवा गरेको जानकारी दिंदै सहयोग गर्न आग्रह गरेका थिए ।
निजामति कर्मचारी संगठनका अध्यक्ष भोला पोखरेलले कार्यालय सहयोगीको चिठ्ठीसमेत मन्त्री आफै हस्ताक्षर गरेर सरुवा गरेको बताए । ‘सरुवामा मन्त्रीले ठुलो चलखेल गरेका छन्, कार्यालय सहयोगीको सरुवाको चिठ्ठीमा मन्त्री आफैले हस्ताक्षर गरेको छ’ उनले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट कर्मचारीहरुको अगुवाइमा कर्मचारीहरुको सरुवा गरिएको कर्मचारी दाबी गरेका छन् ।
माओवादी निकट कर्मचारी संगठनका सम्बद्ध कर्मचारी शोभाकान्त नेपाल, विष्णु चौलागाई, मधुसुदन अधिकारी, मनमोहन स्वांर, सरोज गौतम लगायतले म्याद नपुगेका कर्मचारीलाई समेत सरुवा गर्न मन्त्रीलाई दवाव दिएका थिए ।
मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सरुवामा चालिसदेखि चार लाख रुपैया लेनदेन भएको छ ।



