सभासद् श्यामसुन्दर गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर

– विनिता दाहाल

 

काठमाडौं – पूर्व मन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर भएको छ। २५ दिन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबार मुद्दा दर्ता भएको हो।

 

अभियोगपत्रमा गुप्तालाई १७ वर्ष कैद सजाय, अपहरण मुद्दामा बिगो ८५ लाख र त्यति नै जरिवाना माग गरिएको छ। गुप्तालाई व्यापारी पवन सङ्घाईको अपहरण गरेको अभियोगमा माघ २ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। २० दिन अपहरण गरेर राखेकाले त्यति समयको प्रतिदिन ५ सयका दरले क्षतिपूर्ति रकमसमेत माग गरिएको छ।

गुप्तालगायत आकाश लामा, जितबहादुर गोले, अमिर आचार्य, किशोर पाण्डे र विष्णु लक्सनविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरुको थुनछेक बहस शुक्रबारलाई राखिएको जिल्ला अदालतका स्रेस्तेदार भरत लम्सालले जानकारी दिए।