माओवादी बैठकद्धारा सहमतीय सरकार निर्माणका लागि पहल गर्ने निर्णय

काठमाडौ – एकीकृत  माओवादी स्थायी समितिको बैठकले शुक्रबार सहमतीय सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको बैठकले अन्य दलहरुसंग सहमतीय सरकार निर्माणको बिषयमा छलफल गर्ने जिम्मेवारी पनि दाहाललाई नै दिएको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जनसत्ताले गरेका कामहरुलाई बैधानिकता दिने मन्त्रिपरिषद्को निर्णय फिर्ता लिएपछि चिढिएका माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षधरले प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग्न थालेपछि सहमतीय सरकार निर्माणमा पहल गर्ने निर्णय गरेको हो ।

सुरु देखि नै भट्टराई सरकारको अलोचना गर्दै आएको बैद्य पक्षले बिहीबारदेखि प्रधानमन्त्रीको राजिनामालाई चर्काएका छन् ।

यसअघि काँग्रेस एमालेले जनसत्तालाई बैधानिकता दिने निर्णय फिर्ता लिन र शान्ति प्रकृया टुङ्गोमा पुर्याएपछि मात्र सहमतीय सरकारको कुरा गर्न तयार हुने बताउँदै आएको थियो ।