राष्ट्रपति यादवद्धारा मनि लाउण्डरिङ र सुपुर्दगी सन्धीबारे चासो ब्यक्त

काठमाडौ  – राष्ट्रपति रामवरण यादव र सुभामुख सुवास नेम्वाङबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको छलफलमा राष्ट्रपति डा. यादवले शान्ति प्रक्रिया र संविधान लेखनका बारेमा चासो व्यक्त गर्दै तोकिएको समयमै शान्ति र संविधानका कार्यहरु सक्ने गरी दलहरुबीच सहमति हुनुपर्नेमा ध्यानाकर्षण गराएको भेटपछि सभामुख नेम्वाङले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति डा यादवबाट शान्ति प्रक्रिया र संविधान लेखन तथा मनि लाउण्डरिङ एवम् सुपुर्दगी महासन्धी विधेयकका बारेमा चासो व्यक्त भएको थियो ।

सभामुख नेम्वाङले गत तीन साताभन्दा बढी समयदेखि भएको सदन अवरोध बिहीबारदेखि हटिसकेकाले शान्ति प्रक्रिया र संविधान लेखनका बारेमा दलहरुबीच चाँडै निकास निस्कने राष्ट्रपति डा यादवलाई जानकारी गराएको बताए ।

उनले राष्ट्रपतिबाट मनि लाउण्डरिङ र सुपुर्दगी महासन्धी विधेयक पारित नहुँदा नेपाल कालोसूचीमा पर्न लागेको बारेमा पनि चासो व्यक्त भएको र आफूले यस विषयमा अब चाँडै निकास निस्कने जानकारी गराएको बताए ।

सभामुख नेम्वाङले सदनको अवरोध हटेकाले फागुन १ गते यी विधेयकहरु पारित गर्ने तयारी भइरहेको पनि जानकारी गराएको उल्लेख गरे ।

राष्ट्रसङ्घले सुपुर्दगी महासन्धी पारित गर्न आफ्ना सदस्य राष्ट्रहरुलाई आग्रह गरिसकेको र सो महासन्धी पारित नभएपछि सहयोग अनुदानसमेत कटौती हुनसक्ने भएकाले राष्ट्रपति डा यादवबाट चासो व्यक्त गरिएको जनाइएको छ । रासस