स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुलाई एक अर्व ९७ करोडको चेक वितरण

काठमाडौ  –  पुनःस्थापना, रेखदेख र सेना समायोजन विशेष समितिको सचिवालयले स्वेच्छिक अवकाशमा जाने माओवादीका लडाकुलाई चेक वितरण गर्ने कार्य शनिबारदेखि सम्पन्न भएको जनाएको छ ।

विशेष समितिका संयोजक बालानन्द शर्माले मुख्य तथा सहायक शिविरमा रहेका लडाकुलाई स्वेच्छिक अवकाशवापत चेक वितरण गरिसकेको र छिटफुट भएका लडाकुलाई काठमाडौँस्थित सचिवालयमार्फत वितरण गरिने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

सचिवालयले हालसम्म स्वेच्छिक अवकाश रोजेका सातहजार ३६५ जना लडाकुमध्ये सातहजार २०० लाई रु एक अर्ब ९७ करोड बराबरको चेक वितरण गरिसकेको तथा बाँकी रहेका करिब डेढ सयलाई सचिवालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

समितिले यही माघ १९ गतेदेखि स्वेच्छिक अवकाशमा जानेहरुलाई विदाइ प्रक्रिया सुरु गरेको थियो । विशेष समिति सचिवालयले मङ्सिर ३ गतेदेखि सुरु गरेको पुनः वर्गीकरणको कार्य मङ्सिर १९ गते नै सकिएको थियो ।

गत कात्तिक १५ गते दलहरुबीच भएको सहमतिअनुसार छ हजार ५०० जनालाई समायोजनमा लैजाने र बाँकीलाई स्वेच्छिक अवकाश र पुनःस्थापनामा लैजाने सहमति भएको थियो ।

यसअघि सेना समायोजन विशेष समिति सचिवालयले १६ हजार ९९६ जना माओवादी सेनाका लडाकुको वर्गीकरणको कार्य सम्पत्र गरेको थियो । अनमिनले प्रमाणित गरेका १९ हजार ६०२ मध्ये १६ हजार ९९६ मात्र वर्गीकरणमा सहभागी भएका थिए ।

समायोजनमा नौ हजार ७०५, स्वेच्छिक अवकाशमा सात हजार ३६५ र छजनाले मात्र पुनःस्थापना रोजेका थिए ।

पुनः वर्गीकरणमा इलामको चुलाचुलीमा एकहजार ४९८, सिन्धुलीको दुधौलीमा एक हजार २८१, चितवनको शक्तिखोरमा तीन हजार ३२५, नवलपरासीको झ्याल्टुङडाँडामा दुईहजार ६०८, रोल्पाको दहवनमा दुई हजार १६७, सुर्खेतको दशरथपुरमा दुई हजार ९३८ र कैलालीको तालबन्दमा तीनहजार ११५ लडाकु रहेका थिए ।

मन्त्रालयअन्तर्गत रहेको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयकाअनुसार लडाकुका लागि आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०६८/६९ मङ्सिर मसान्तसम्ममा जम्मा खर्च रु आठ अर्ब ७८ करोड ९९ लाख २६ हजार ५४६ भइसकेको छ ।

सचिवालय संयोजक शर्माले लडाकुलाई वितरण गरिएको चेक खोसिएकोबारे स्पष्ट पार्दै खोसिएका चेक सम्बन्धित लडाकुले आफ्नो परिचयपत्र देखाएर मात्र साट्न वा जम्मा गर्न पाउने निर्देशन सम्बन्धित बैङ्कलाई दिइसकेकाले चेकको रकममा कुनै तलमाथि नहुने बताए ।