सेना समायोजन विशेष समितिद्धारा माओवादी लडाकुलाई राखिएका २८ शिविरमध्ये आधा शिविर घटाउने निर्णय

– सरोजराज अधिकारी

 

काठमाडौ – सेना समायोजन विशेष समितिले माओवादी लडाकुलाई राखिएका २८ शिविरमध्ये आधा शिविर घटाउने निर्णय गरेको छ ।

 

आइबार बसेको बैठकले उक्त निर्णय गरेको हो । खाली गरिएका शिविरका भौतिक सम्पत्तिको लगत तथा विवरण तयार पार्न विशेषसमिति सचिवालय सदस्य रामानन्द मिश्रको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । अन्य सदस्यहरूमा शम्भुराम सिम्खडा, गोपालसिंह बोहरा, तेजबहादुर ओली र शान्तिमन्त्रालयका सहसचिव जयदेव श्रेष्ठ रहेका छन् ।

 

कार्यदलले एक सातामा आफ्नो विवरण पेस गर्ने छ । सेना समायोजनका सम्बन्धमा प्रधानमन्त्री बाबुराम भट्टराईले सेनालाई लेखेको पत्र अनुसार सेनाबाट समायोजनको तयारी गरेको पत्र प्राप्त भएको अर्थमन्त्री वर्षमान पुनले जानकारी गराए ।

 

लडाकुका चेक खोसिएको सम्बन्धमा सचिवालयले नै आवश्यक छानबिन गर्न समितिले निर्देशन दिएको छ ।