माओवादीले आज जनयुद्ध दिवस मनाउँदै

माओवादीले जनयुद्ध दिवस मनाउँदै


एकीकृत माओवादीले आज जनयुद्ध दिवस मनाउँदैछ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र सुरु गरेको माओवादीले हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ ।

 

जनयुद्ध दिवसका अवसरमा माओवादीले आज विभिन्न कार्यक्रम गर्दैछ । काठमाडौं लगायत देशका विभिन्न ८ ठाउँमा सभा गरिने माओवादीले जनाएको छ । काठमाडौंको सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्ध २०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौता सँगै अन्त्य भएको थियो ।

 

यो युद्धको नाममा १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । हजारौंको संख्यामा नागरिक वेपत्ता पारिएका छन् । विस्तृत शान्ति सम्झौतामा गरिएका वाचा र कबोलहरु नेताहरुले पूरा नगर्दा साँच्चिकै पीडितले अझै न्याय पाएका छैनन् भने पीडकहरु पुरस्कृत हुँदै गएका छन् ।

 

देशमा शान्ति प्रक्रिया र संविधान लेखन अघि बढिरहेकाले योसँगै जनयुद्धको लक्ष्य प्राप्त हुनेमा एकथरी माओवादी नेता छन् भने अर्कोथरी नेता लक्ष्य प्राप्त गर्न फेरी जनविद्रोहमै जानु आवश्यक रहेको जिकीर गर्दैछन् ।