इनरुवा – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चामा सामेल मधेसवादी दलका नेतालाई तराई मधेसमा बहिष्कार र तिरस्कार गर्नुपर्ने बताएका छन् ।
मधेसी जनतासँग विश्वासघात गर्ने सूचीमा ‘मधेसी मोर्चा’ का नेताहरू नै रहेको आरोप लगाउँदै यादवले भत्ता र सत्तामा लिप्त मोर्चाका नेतालाई मधेसमा बहिष्कार र तिरस्कार गर्नुपर्ने बताए ।
फोरम सुनसरीको दोस्रो जिल्ला अधिवेशनको इनरुवामा मंगलबार उद्घाटन गर्दै यादवले मधेसी मोर्चाका नेताहरू सिखण्डी भएको आरोप लगाए । उनले मधेस र मधेसीलाई अधिकारबाट वञ्चित गराउन माओवादीले मधेसी मोर्चाका नेतालाई सरकारमा सामेल गराई सिखण्डी बनाएको बताए ।
आफ्नो मन्तव्यमा अधिकांश समय सरकारमा सामेल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र गणतान्त्रिक अध्यक्ष जयप्रकाश गुप्ताको आलोचनामा खर्चेका यादवले मधेसी मोर्चाका नेता माओवादीको पिछलग्गु भएको बताए ।
मधेसलाई अलग गरेर अब नेपालमा कुनै पनि सरकार टिक्न नसक्ने जिकिर गर्दै उनले वर्तमान सरकार अवसरवादी र भ्रष्टाचारीको जमात भएको आरोप लगाए । उनले इतिहासकै भ्रष्ट सरकारका रूपमा यो सरकार रहेको बताउँदै सरकारकै कारण अन्तर्राष्ट्रियस्तरमा मुलुकको छवि बिग्रेको बताए । तीन ठूला दल संविधान निर्माणप्रति इमान्दार नरहेकाले तोकिएको समयमा शान्ति स्थापना र संविधान नबन्ने उनको टिप्पणी थियो । कान्तिपुर



