राष्ट्रपति यादवद्धारा निर्धारित जेठ १४ को समय सीमा भित्र संविधान जारी गर्ने वातावरण बनाउन प्रमुख दलसंग आग्रह


 

काठमाडौ – राष्ट्रपति डा.रामवरण यादवले निर्धारित जेठ १४ को समय सीमा भित्र संविधान जारी गर्ने वातावरण बनाउन प्रमुख राजनीतिक दलसंग आग्रह गरेका छन् । शितल निवासमा बुधबार प्रमुख तीन दलका शीर्ष नेताहरुसंगको सामूहिक भेटमा यादवले उक्त आग्रह गरेका हुन् ।

राष्ट्रपतिले बोलाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल राष्ट्रपति निवास पुगेका थिए । नेताहरुसंगको भेटमा राष्ट्रपति यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्था,शान्ति तथा संविधान निर्माणका प्रक्रियामा भइरहेको प्रगतिबारे चासो राखेका थिए । निर्धारित समय सीमा साँघुरिदै गाएकाले शान्ति र संविधान निर्माणमा केन्द्रीत हुन यादवको नेताहरुसंग आग्रह थियो ।

राष्ट्रपतिसंगको भेटमा नेताहरुले आफूहरु सहमति अनुसार अगाडि बढ्न प्रतिवद्ध रहेको बताएको एमाले अध्यक्ष झलनाथ खनालले बताए । दलहरुबीच सहमति हुन नसक्दा संविधान निर्माणको कार्यतालिका पटक-पटक प्रभावित हुँदै आएको छ । भेटमा राष्ट्रपति यादवले उच्च नेताहरुबाटै राष्ट्रियता बिरोधी अभिव्यक्तिहरु आउन थालेको तर्फ शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए । कान्तिपुर