लहान – शान्ति सुरक्षाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको नेकपा एमाले सिरहाले तेस्रो चरणको आन्दोलनअन्तर्गत आज दोस्रो दिन पनि सिरहाका सम्पूर्ण सरकारी कार्यालय बन्द गराएको छ ।
कार्यालय बन्द गर्दै हिँडेका एमाले कार्यकर्ता र कार्यालयको सुरक्षार्थ परिचालन गरिएका प्रहरीबीच लहानका मालपोत, विद्युत् र यातायात कार्यालयमा झडप भएको छ ।
झडपमा करिब एक दर्जन एमाले कार्यकर्ता सामान्य घाइते भएका छन् । झडपपछि प्रदर्शनकारी एमाले कार्यकर्ताले प्रहरी र स्थानीय प्रशासनविरुद्ध लहान र सिरहामा चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । कार्यालय बन्द हुँदा विभिन्न ठाउँबाट आएका सेवाग्राही मारमा परेका छन् ।
एमाले सिरहाले गत माघ ९ गते जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भई उपचारको क्रममा मृत्यु भएका हनुमाननगर गाविसका रामस्वरुप पासवानलाई सहिद घोषणा गरिनुपर्ने, बेलहामा डाँकाको गोलीबाट मारिएका किशोर सुरेश साहको परिवारलाई रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, लक्ष्मीनिया हत्याकाण्डको न्यायिक छानविन हुनुपर्नेसहित आठ सुत्रीय मागसहित पुस ३० गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद ढकालले जिल्लाका कुनै पनि कार्यालय बन्द नभएको दाबी गर्दै कार्यालय सञ्चालनमा रहेको बताउनुभयो ।



